The Nepal Times

Hot Nepali News Updated Every Second

भारतको पश्चिम बंगालमा आर्यनको चर्चा

Published on Tuesday, 15 January 2013 05:38 // ,


नेपालमा आर्यन सिग्देलको चर्चा चलिरहँदा भारतको पश्चिम बंगालमा पनि उनको चर्चा चलेको पाईएको छ । केहि समय अगाडी उनी अभिनित फिल्म 'कस्ले चोर्‍यो मेरो मन'लाई बंगाली भाषामा डबिङ गरि 'के निलो मन हमार' नाम राखि रिलिज गरे पश्चात उनको चर्चा चलेको हो ।

बिगत २० बर्ष देखि पश्चिम बंगालको सिलुगुढीमा बस्दै आएका टिकम शर्माले कस्ले चोर्‍यो मन रिलिज गरे पश्चात आर्यनलाई स्थानीय नेपालीभाषीहरूले चिन्न थालेको र मन पराउन थालेको बताए । 'फिल्म खासै चलेन तर आर्यनको कामलाई सबैले मन पराए', टिकमले भने- 'राजेश हमाल र दिलिप रायमाझी पछि यहाँ आर्यनकै चर्चा हुन्छ ।' राजेश र दिलिप भने पहिल्लै देखि नै पश्चिम बंगालमा चर्चित छन् । आर्यनको चर्चा बढेकाले आफूले एउटा बंगाली फिल्ममा काम गराउन एग्रिमेण्ट गरेर राखेको बताए । नायक जीवन लुईटेललाई पनि एग्रिमेन्ट गरेको उनको भनाई छ ।


पश्चिम बंगालमा नेपाली फिल्मको बजार खोज्न लागि परेका टिकमले गत महिना दिलिप रायमाझीले निर्माण गरेको फिल्म मिस यूलाई नेपाली भाषामा नै रिलिज गरे । 'दर्शकको राम्रो प्रतिक्रिया पाएँ', उनले भने- 'अब छिट्टै नै बंगाली भाषामा डबिङ गरेर चपली हाईटलाई '१८+' नाम दिएर रिलिज गर्दैछु ।' चपली हाईटले पश्चिम बंगालमा राम्रै हाईट पाउने उनको बिश्वास छ । नेपालमा नेपाली फिल्मको बजार खस्किरहेको अवस्थामा केहि भए पनि राहत दिन टिकमले नेपाली फिल्मको बजार पश्चिम बंगालमा खोज्ने जमर्को गरेको बताए ।


कञ्चनजंघा सिने क्रियशन नामको कम्पनी खडा गरेका टिकमले नेपाली फिल्मलाई करिब ८ भाषामा डबिङ गरि नेपाली फिल्मको दोस्रो ठूलो मार्केटको खोजीमा लागेको बताए । टिकमले भारतका दार्जिलिङ, सिलुगुढी, सिक्किम, डुवर्स, उडिसा, उत्तर खण्ड लगायतका स्थानमा क्षेत्र अनुसारको बंगाली, भोजपुरी, आदिवासी, सुर्जापुरी, मारवाडी, उरिया, राजबंशी, मैथली, हिन्दी जस्ता भाषामा नेपाली फिल्मलाई डबिङ गर्दै रिलिज गर्ने योजना बनाएका छन् । यसको शुरूवात उनले मेलिना मानन्धर र मुकेश ढकाल अभिनित बंगाली भाषाको फिल्म मायर आँचललाई नेपाली सहित माथी उल्लेखित भाषामा डबिङ गरि रिलिजको तयारी गर्दैछन् । उनले मायर आँचललाई नेपाली भाषाको लागि 'कसैको माया कसैको पछ्यौरी' दिएका छन् ।


राजेश हमाल, पूजना प्रधान, सिर्जना बस्नेतलाई लिएर नेपाली भाषाको भूल फिल्म निर्माण गरेका टिकमले सो फिल्मबाट पूरै घाटा खाए पनि अब वितरण गर्न लागेका फिल्मबाट घाटा नखाई नेपाली फिल्मको बजार खोज्ने बताए । उनले अजम्बरी नाता फिल्मलाई आदिवासी भाषामा प्यारकर रिस्ता नाम दिएर रिलिज गरिसकेका छन् भने मजबुर र कवच फिल्मको राईट किनेर भोजपुरीमा बेचिसकेको बताए । यस्तै उनले अर्जुनदेव, इज्जतदार र तक्दिरलाई पनि भोजपुरीमा बेच्न लागेको जानकारी दिए ।


निर्माण युनिटसँग बिबाद बढेपछि २० लाखमा रिलिज राईट किनिएको फिल्म सायद चलाउन नसकेको तितो अनुभव साट्दै टिकमले नेपाली फिल्म मेकरले आफूलाई बिश्वास गरे राम्रो फाईदा लिन सक्ने बताए । फिल्मको सुटिङका लागि आवश्यक सामाग्री समेत जुटाउँदै आएका टिकम थुप्रै हिन्दी र बंगाली फिल्ममा अभिनय गरिसकेका अभिनेता समेत हुन् । 'मेरो पेशा नै यहि हो त्यसैले कि फिल्मको वितरण गर्छु कि निर्माण ।' उनले अब छिट्टै नै एउटा हिन्दी र एउटा नेपाली फिल्म निर्माण गर्ने समेत बताए । नेपाली फिल्ममा आर्यन सिग्देल र जीवन लुईटेललाई एकसाथ पर्दामा देखाउने उनको इच्छा छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!