The Nepal Times

Hot Nepali News Updated Every Second

श्रीकृष्णको फिल्ममा फेरि श्वेता

Published on Monday, 14 January 2013 16:49 // ,

काठमाडौं, माघ १ (नागरिक) - फिल्म 'कहाँ भेटिएला' निर्माण गरेको करिब चार वर्षपछि अभिनेता श्रीकृष्ण श्रेष्ठ पुनः फिल्म बनाउन जुर्मुराएका छन्। उनले आफ्नो लगानीमा बन्ने फिल्ममा आकास अधिकारीलाई निर्देशक चयन गरेका छन्। चैतबाट फिल्मको सुटिङ थाल्ने योजनामा रहेको उनले जानकारी दिए।

'अभिनेत्रीमा श्वेता खड्कालाई निर्देशकले छान्नु भएको छ, अन्य कलाकारको छनोट भइसकेको छैन,' आफ्नो भूमिका पनि निश्चित भइनसकेको उनले बताए। श्वेताले 'कहाँ भेटिएला'मा श्रीकृष्णको जोडी बनेर खेलेकी थिइन्।

फिल्मको संगीतकारमा शम्भुजित बासकोटा र नृत्य निर्देशकमा वसन्त श्रेष्ठलाई लिएर श्रीकृष्णले पुरानै टोलीलाई निरन्तरता दिएका छन्। तर, उनका 'प्रिय' निर्देशकका रुपमा कहलिएका शिव रेग्मीलाई भने गीतकारको भूमिकामा खुम्च्याएका छन्।
एक समय सफल फिल्मको लाइन लगाए पनि पछिल्लो समय रेग्मीको फिल्मले राम्रो व्यापार गर्न सकेको छैन।
'हिट फिल्म दिन छोडेकाले रेग्मीलाई नलिएको हो?' भन्ने प्रश्नमा श्रीकृष्णले भने, 'यसपटकको विषय आकासजीलाई सुहाउने खालको छ।' समसामयिक विषयमाथि 'म्युजिकल लभस्टोरी फिल्म बनाउन लागेको उनले जानकारी दिए। 'पहिला एक्सनमा ठूलो प्रयोग गरेको थिएँ, यसमा पनि केही न केही प्रयोग गर्छु,' श्रीकृष्णको दाबी छ।
देशको घटनाका झझल्को दिने गरी फिल्मलाई नारी प्रधान बनाउने उनले बताए।
'कहाँ भेटिएला'ले अभिनेता श्रेष्ठलाई निर्माताको रुपमा पनि सफल बनाएको थियो। तर, सो फिल्म रिलिज भएको करिब चार वर्षसम्म पनि उनले फिल्म निर्माणमा जाँगर देखाएनन्। बरु 'कहाँ भेटिएला' उनलाई अरुका केही फिल्ममा काम दिलायो। ती फिल्म चलेनन्, श्रीकृष्ण पनि अन्य व्यवसायमा लागे।
उनले हालै राजधानीको गौशालामा तीनतारे होटाल 'इन्द्रेणी हिमालय' र त्यहीं कलिउड प्लानेट खोलेका छन्। फिल्मले राम्रो व्यापार नगरिरहेको बेला निर्माणमा हात बढाउन लागेका उनले भने,'यो काममा प्रशस्तै रिस्क छ। तैपनि ममा दर्शकको विश्वास टुटेको छैन भन्ने ठानेर बनाउन लागेको हुँ।'
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!