The Nepal Times

Hot Nepali News Updated Every Second

वितेका पलले दार्जीलिङमा दुई महिना बिताउँदा

Published on Tuesday, 15 January 2013 20:25 //


विगत दुई महिना देखि दार्जीलिङको चिसोसँग साईनो गाँस्दै गरेको फिल्म वितेका पल युनिट भोली बिहिबार काठमाण्डौ फर्कदैं छ । दुई महिना सम्म दार्जीलिङका रमणिय स्थानमा फिल्मको सुटिङ गरेको युनिट बुधबार इण्डक्ल्याप गरि बिहिबार काठमाण्डौ फर्कन लागेको हो ।

दार्जीलिङको प्रतिकूल मौसमका कारण समयमा नै सुटिङ नसक्दा युनिटका धेरै सदस्यले होमसिक भएको अनुभव साटे । अभिनेता बाबु बोगटीले भने, 'यति लामो समय बाहिर बस्न त गार्‍है हुने रहेछ । तर, यहाँ सबै नेपालीभाषी भएकाले दिन काट्न त्यति मुस्किल भएन ।' सिमाको आधारमा बिदेशी भुमि भएपनि दार्जीलिङमा आफ्नो पन पाएको बाबुको अनुभव छ । दार्जीलिङको हावापानीले लोभ्याएको बताउँदै बाबुले भने- 'यो फिल्मले दार्जीलिङलाई नजिकबाट बुझाउने प्रयास गर्नेछ ।'


फिल्मका क्याप्टेन अर्थात निर्देशक सुरज सुब्बा 'नाल्बो' ले फिल्मको कथा नै दार्जीलिङको भएकाले यहाँ सुटिङका लागि आएको बताए । नेपाल र दार्जीलिङको कलासंस्कृतीको बारेमा बुझाउन वितेका पलले पूलको काम गर्ने बताउँदै सुब्बाले भने- 'फिल्म हेरेपछि थाहा हुन्छ हामीले दार्जीलिङसँग कति नजिकको साईनो गाँसेका छौं भनेर ।' दुई महिनासम्म के खिच्नु भयो भन्ने जिज्ञासामा सुब्बाले भने, 'नयाँ बुहारीलाई घरको वातावरणसँग घुलमिल हुन केहि समय लाग्छ र हामीलाई पनि त्यस्तै भयो । अर्को कुरा यहाँको मौसमले पनि निकै च्यालेञ्ज गरेकाले सुटिङ समय अलि लम्बिएको हो । तर हामीले धैर्य गर्दै जे जति क्यामेरामा कैद गरेका छौं त्यसलाई दर्शकले रूचाउनु हुनेछ भन्ने बिश्वास छ ।'


वितेका पललाई मन देखि कोरेको कविता भन्दै निर्देशक सुब्बाले फिल्मको नाम भूतकालमा भए पनि यसले वर्तमान अवस्थालाई झल्काउने बताए । दार्जीलिङकै कलाकार अबिनाश गुरूङलाई डेब्यू गराएका सुब्बाले कलाकारमा सम्झौता नगर्ने बताउँदै भने, 'दार्जीलिङको कलाकारलाई कि कालले लान्छ कि नेपालले भन्ने उखान छ । हामीले अबिनाशलाई नेपाल ल्याउने जमर्को गर्दैछौं ।' अनुहार हेरेर कलाकार छनोट नगर्ने बताउँदै सुब्बाले प्रतिभावान कलाकारसँग काम गर्ने बताए । उनले केकीको कामबाट निकै प्रभावित भएको अनुभव साट्दै भने, 'केकी लम्बे रेशको घोडा हो ।' केकीको कामले प्रभाव पारेकाले प्रमिश पश्चात दोहोर्‍याएको उनको भनाई छ । पछिल्ला फिल्ममा पनि केकीसँग काम गर्ने इच्छा रहेको सुब्बा बताउँछन् ।


यता नायिका केकी अधिकारीले पनि सुरज सुब्बाको कामको तारिफ गर्न चुकिनन् । यस्तै उनले नयाँ हिरो अबिनाशको काम पनि निकै राम्रो भएको बताईन् । आफूले पनि सक्दो मेहनत गरेको केकी बताउँछिन् । दार्जीलिङको हावापानीले लोभ्याएको बताउँदै केकीले लामो समय घर छोड्दा होमसिक भएको बताईन् । उनले भनिन्, 'यहि लामो समय घर छोडेर बाहिर बसेकी थिईन अलि गार्‍हो भने भयो ।'


फिल्मका निर्माता राजेश घतानीले दार्जीलिङ आफ्नो लागि लक्की स्थान भएकाले यहाँ आएको बताए । उनले भने, 'जब मैले दार्जीलिङसँग सम्बन्ध राखें तबदेखि मलाई राम्रो हुँदै आएको छ ।' नेपाली फिल्ममा फ्रेस लोकेशन नभएकाले पनि दार्जीलिङ आएको उनी बताउँछन् । बाटो मुनिको फूल निर्माण गरेपश्चात नेपाली फिल्ममा नयाँ आयाम ल्याएको दाबी गर्दै राजेशले वितेका पलले नेपाली फिल्म उधोगमा अर्को नयाँ आयाम ल्याउने दाबी गरे । पछिल्लो समय नेपाली फिल्मको व्यापारमा मन्दी आईरहेका बेला वितेका पलले सो मन्दीलाई केहि कम गर्न सहयोग गर्ने उनको भनाई छ ।
 

निर्माताको हिसाबले बिदेशी भूमिमा सुटिङ गर्न निकै खर्चिलो हुने बताउँदै राजेशले आजका दिनसम्म एक करोड लगानी पुगिसकेको बताए । तर उनले आफ्नो लगानी नेपाली बजार भन्दा पनि बिदेशी बजारबाट उठाउने तयारी गरेको बताए । यस्तै उनले नायक अबिनाश गुरूङका पिता बिमल गुरूङ (गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं जीटीए प्रमुख)को फिल्ममा लगानी चलिरहेको हल्लालाई खण्डन गर्दै भने- 'उहाँको एक पैसा पनि लगानी छैन । जे जति खर्च गरेका छौं त्यसमा अमेरिकामा रहेका साथी क्रिस रिजालको मात्र सहयोग छ ।' फिल्म तयार हुञ्जेलसम्म फिल्मको बजेट डेढ करोड पुग्ने राजेशको भनाई छ ।


त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको यो फिल्मको एउटा गीतको सुटिङ भने नेपालमा गरिने भएको छ । निर्देशक सुब्बाकै लेखन रहेको यो फिल्ममा बाबु बोगटी, डम्बर नेपाली र रोशन लामाको संगीत रहेको छ । विग प्रोडक्सन हाउसले निर्माण गरेको यो फिल्मको छायाँकन हरि लामाले गरेका छन् भने करियोग्राफी अर्जुन गौतम र शंकर बिसीको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!